नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

 

काठमाडौं, विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनी भिसाले नेपालमा डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउन नेपालको प्रमुख भुक्तानी नेटवर्क फोनपेसँग रणनीतिक साझेदारी गरेको छ। यस साझेदारी अन्तर्गत भिसा कार्डधारकहरूले नेपालमा फोनपेको क्युआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न पाउने छन्।

यो सहकार्यले नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको “स्क्यान टु पे” प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउनेछ। यसले नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ। भिसा र फोनपेको यो सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिनेछ।

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले यो साझेदारीलाई नेपालमा डिजिटल भुक्तानी क्षेत्रको लागि एक महत्वपूर्ण कोसेढुङ्गा बताउँदै यसले देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउने बताए।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारीलाई फोनपेको “स्क्यान टु पे” योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम बताए। उनले यसले विश्वभरका भिसा कार्डधारकहरूलाई निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्ने र नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउने बताए।

नेपाल र एसियामा सबैभन्दा लोकप्रिय भुक्तानी विधिहरू मध्ये एक क्युआर कोडले नेपालका लाखौं व्यापारिक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बनाउनेछ। यसले साना व्यवसायहरूलाई कार्ड भुक्तानी स्वीकार गर्न सक्षम बनाउनेछ भने ठूला खुद्रा पसलहरूलाई ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा प्रदान गर्ने अवसर प्रदान गर्नेछ।

भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ। फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को ऐतिहासिक कदम हो। यसले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ आयाम दिने अपेक्षा छ।