१७औं नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आजदेखि खुल्ला

 

काठमाडौं । नेपालको सवारी साधन क्षेत्रमा ठूलो आकर्षण बनेको नाडा अटो शोको १७औं संस्करण २०८२ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। यस प्रदर्शनीमा सहभागी हुन र स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन प्रक्रिया आज फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म खुल्ला गरिएको छ।

नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल (NADA) का अनुसार, प्रदर्शनीमा सहभागी हुन अत्यधिक माग भएकाले स्टल बुकिङ्ग गोला प्रथाद्वारा गरिनेछ। यस वर्ष पनि विगतका वर्षहरु जस्तै २–पाङ्ग्रे, ३–पाङ्ग्रे, ४–पाङ्ग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स, ग्यारेज उपकरण, वित्तिय संस्था र इन्स्योरेन्स कम्पनीहरूलाई समुह अनुसार छुट्टाइएको छ।

नाडा अटो शो समितिका सहसंयोजक श्री अनुपकुमार बरालका अनुसार, यस प्रदर्शनीले सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी र आम उपभोक्ताहरूलाई नविनतम् प्रविधि र सकारात्मक उर्जा प्रदान गर्नेछ। उनले यसले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पुग्ने बताए।

यस वर्ष भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट पनि सहभागिता बढ्ने अपेक्षा गरिएको छ। गत वर्षहरुको तुलनामा यस वर्ष छिटो रजिष्ट्रेशन प्रक्रिया सुरु गरिएकोले प्रदर्शनीमा सहभागी हुन चाहनेले चाँडै रजिष्ट्रेशन गर्न अपील गरिएको छ।

नाडा अटो शोले नेपालको सवारी साधन क्षेत्रमा नयाँ प्रविधि र बजारका सम्भावनाहरु प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ। यसले उद्योग र उपभोक्ता दुबैलाई फाइदा पुग्ने अपेक्षा छ।