सेवा चुस्त बनाएपछि बाराको यातायात कार्यालयको राजस्व साढे ७ करोड नाघ्यो

काठमाडौं । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्म ७ करोड ३६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख अविन्दर दासका अनुसार सेवा चुस्त र पारदर्शी बनाएपछि पछिल्ला महिनामा राजस्व सङ्कलन दर उत्साहजनक रूपमा वृद्धि भएको हो।

उनका अनुसार साउनदेखि माघ पहिलो सातासम्म ४ करोड ३० लाख रुपैयाँ र त्यसपछि वैशाखको पहिलो सातासम्म थप ३ करोड ६ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। पछिल्ला तीन महिनायता कार्यालयले औसतमा प्रतिमहिना १ करोड २ लाख रुपैयाँ राजस्व उठाउँदै आएको छ।

कार्यालयले सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ३ करोड ५४ लाख ४० हजार रुपैयाँ तथा सवारी करबाट ३ करोड ४० लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ।
यातायात क्षेत्रको आम्दानी शीर्षकमा ४० लाख ८४ हजार रुपैयाँ, प्रशासनिक सेवा शुल्क बापत २५ हजार रुपैयाँ र बेरुजु शीर्षकमा ६७ हजार रुपैयाँ राजस्व उठाइएको कार्यालयले जनाएको छ।

कार्यालयले चालु आर्थिक वर्षभरिमा करिब १० करोड रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरेको छ।