‘वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’ : गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले नेपाली अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताएकी छन्।

आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विगत दुई वर्षदेखि घट्दै आएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको जानकारी दिइन्। उनले भनिन्, “अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ। आयात तथा निर्यात व्यापारमा सुधार भएको छ। बैंकिङ क्षेत्रबाट प्रभावित कर्जा विस्तारले समेत गति लिन थालेको छ।”

उनका अनुसार पछिल्लो समय भएका कानुनी सुधारहरुले लगानी वातावरण सहज बनाएको र यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। नेपालको बाह्य क्षेत्र पनि सबल हुँदै गएको उनले उल्लेख गरिन्।

ढुंगानाले वित्तीय पहुँचमा पनि उल्लेख्य सुधार आएको बताइन्। चालु आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकका शाखा कार्यालय पुगेको र राष्ट्र बैंकले विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको उनले बताइन्।

साथै उनले हाल विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेको बताइन्। युरोप र मध्यपूर्वमा जारी भूराजनीतिक तनाव तथा वैदेशिक व्यापार नीतिमा आएको परिवर्तनका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको उनले स्पष्ट पारिन्।

उनले नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह कम हुनु र पुँजीगत खर्च नहुनु जस्ता चुनौती अझै बाँकी रहेको उल्लेख गरिन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले पनि सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति नलिन सुझाव दिए। उनले अर्थतन्त्रको सवालमा राज्यका नियामक निकायहरू संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए।

क्षेत्रीले भने, “पुँजीगत खर्चको लागि भन्दा वित्तीय खर्चमा छुट्याइएको बजेट धेरै छ। सस्तो लोकप्रियता र छोटो फाइदालाई मात्र हेरेर अगाडि बढ्दा हामी समस्यामा परेका छौं। वित्तीय क्षेत्र सुधार र साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध नियन्त्रण गर्न सकिन्छ।”