काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बागमती प्रदेशका उत्कृष्ट १५० भन्दा बढी अभिकर्ताहरुलाई नेतृत्व र व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरेको छ। उक्त तालिम शनिबार काठमाडौंको एक प्रमुख होटलमा सम्पन्न भएको हो, जसमा ख्यातिप्राप्त ट्रेनरहरूले प्रशिक्षण प्रदान गरेका थिए।
कम्पनीका डेपुटी जनरल म्यानेजर सोन बहादुर मगरले तालिमको उद्घाटन गरे। तालिममा कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर टीका दत्त प्याकुरेल, तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडा, र बागमती प्रदेशका उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो।
तालिममा सहभागी अभिकर्ताहरुले कम्पनीले प्रदान गरेको सम्मान, माया र सद्भावका कारण बीमा व्यवसायमा अझै प्राथमिकताका साथ काम गर्न प्रेरणा पाएको प्रतिक्रिया दिएका छन्।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता क्षमता विकासका लागि विभिन्न योजनाहरू, तालिम र पुनर्ताजगी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।















