काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसँग औपचारिक सेवा सम्झौता गरेको छ।
यस सम्झौतासँगै माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यसहित मिति २०८२ साल बैशाख १५ गते सोमबारदेखि रेमिट्यान्स सेवा औपचारिक रूपमा सुरु गरेको हो।
उक्त सम्झौतापत्रमा सि.बि.एल. मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्।
अब मलेसियामा रहेका नेपालीहरूले सि.बि.एल. मनी ट्रान्सफरका १५ शाखाहरू र सिटी रेमिट मोबाइल एपमार्फत पठाएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा केन्द्रहरू, ११ एक्सटेन्सन काउण्टरहरू तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सजिलै भुक्तानी लिन सक्नेछन्।
त्यस्तै, पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि गरिएको छ।
माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपाली कामदारहरूको सुविधाका लागि मलेसियाली मोबाइल नम्बरमा पनि ‘मोबाइल बैंकिङ एप’ सेवा उपलब्ध गराएको छ।
देशभर २७५ सेवा केन्द्र र २०४ वटा एटीएम मार्फत १७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सेवा विस्तार गर्दै आएको जनाएको छ।















