काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लास्थित चेपाङ समुदायलाई आवश्यक खाद्य सामग्री वितरण गरेको छ।
हेटौंडा उपमहानगरपालिका–१४ र १५ का ६३ परिवारलाई लक्षित गर्दै आयोजित एक औपचारिक कार्यक्रममा बागमती प्रदेशका नेपाल एसबीआई बैंक प्रमुख सुषील राज श्रेष्ठको नेतृत्वमा खाद्य सामग्री प्रदान गरिएको हो। यो कार्यक्रम बैंकको दु:खी र विपन्न समुदायप्रतिको नियमित सहयोग प्रयासको एक भाग हो।
श्रेष्ठले बैंकले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब, विपन्न र पछाडि परेका समुदायहरूसँग सहकार्य गर्दै आएको उल्लेख गरे। उनले चेपाङ समुदायका परिवारहरूलाई राहतस्वरूप प्रदान गरिएका खाद्य सामग्रीहरू तिनको दैनिकीमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाल एसबीआई बैंकले ३१ वर्षभन्दा बढीदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवा दिँदै आएको छ र देशभर १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १२५ एटिएम, २२ शाखारहित बैंकिङ एकाइ, ७ क्षेत्रीय कार्यालय र एक मुख्य कार्यालयमार्फत सेवा पुर्याइरहेको छ। यही सञ्जालको प्रयोग गरेर बैंकले दुर्गम र सेवा नपुगेका क्षेत्रमा समेत राहत र आवश्यक सामग्री सहजै पुर्याउन सकेको हो।
सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले बैंकले भविष्यमा अझ धेरै दु:खी र विपन्न समुदायसम्म पुग्ने योजना बनाएको छ। खाद्य सहायता कार्यक्रमसँगै शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा समेत बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बैंकको यस्तो प्रयासले सामाजिक उत्तरदायित्वमा लागिपर्ने अरु व्यवसायिक संस्थाहरूका लागि समेत प्रेरणा दिने कार्य गरिरहेको छ। चेपाङ समुदायप्रति देखाइएको यो सहानुभूतिपूर्ण सहयोगले सामाजिक समावेशीता र समानताको दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
हेडलाइन र समाचार















